Section 29K
उल्लंघन गर्नेलाई सजाय
(१) दफा २९छ. को उल्लंघन गर्ने सूचक संस्थालाई नियमनकारी निकायले दफा ७फ. बमोजिम सजाय गर्न सक्नेछ । (२) दफा २९छ. को उल्लंघन गर्ने सम्बन्धित निकायको जिम्मेवार पदाधिकारीलाई अख्तियारवालाले प्रचलित कानून बमोजिम विभागीय सजाय गर्नेछ । (३) दफा २९छ. को उल्लंघन गर्ने प्राकृतिक व्यक्ति वा कानूनी व्यक्तिलाई गृह मन्त्रालयले दशलाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । (४) उपदफा (१), (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक वा कानूनी व्यक्ति, सूचक संस्था वा सोका जिम्मेवार पदाधिकारीले आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न मद्दत गर्ने वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी समूह वा संगठनलाई वा आतङ्ककारी कार्यमा सहयोग गर्ने उद्देश्यले सम्पत्ति वा कोष रोक्का नराखेको देखिएमा निजलाई आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्न तथा मुद्दा चलाउन बाधा पर्ने छैन । (५) यस परिच्छेद बमोजिमका आतङ्ककारी व्यक्ति, समूह वा संगठनको सम्पत्ति तथा कोषको पहिचान, रोक्का, नियन्त्रण, अनुसन्धान, जफत सम्बन्धमा यसै ऐन बमोजिमको व्यवस्था लागू हुनेछ ।